जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम समयसम्म काम गर्छु: कुलमान घिसिङ

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पटक-पटक स्पष्टीकरण दिए पनि त्यसको कुनै अर्थ नरहेको बताएका छन्।

बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले आफूले ५–६ वटा स्पष्टीकरण दिइसकेको उल्लेख गर्दै, अन्तिम क्षणसम्म राष्ट्रका लागि काम गरिरहने स्पष्ट पारे।

“आज हो कि भोलि हो भन्ने हल्ला तपाईंहरूले सुन्नुभएकै होला। तर, भए पनि अन्तिम मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,” उनले भने, “मलाई ० दिए पनि, १०० दिए पनि त्यसले कुनै फरक पर्दैन।”

उनले कार्यकालभरि राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै, स्पष्टीकरणको दबाब आए पनि काम गरिरहने बताए।

“राष्ट्रिय जिम्मेवारी लिएर काम गरिरहँदा जतिसुकै स्पष्टीकरण खानुपरे पनि अन्तिम घडीसम्म काम गर्न सक्ने ताकत राख्नुपर्छ,” उनले थपे।

लोडसेडिङ अन्त्यको योगदान

घिसिङले आफू कार्यकारी निर्देशक भएर आउँदा देशभर ५०-५५ प्रतिशत मात्रै बिजुली बलेको र १६-१७ घण्टासम्म लोडसेडिङ रहेको स्मरण गरे। आफ्नो नेतृत्वपछि लोडसेडिङ समाप्त भएको र देशभर करिब ९९ प्रतिशत स्थानमा २४ घण्टा बिजुली पुगेको दाबी गरे।

ऊर्जा मन्त्रालयको कारबाही प्रयास

ऊर्जा मन्त्रालयले घिसिङलाई प्राधिकरणबाट हटाउने प्रयत्न गर्दै पटक-पटक स्पष्टीकरण मागेको छ। साथै, कार्यसम्पादन मूल्यांकन समितिले उनलाई शून्य अंक दिँदै कमजोर कार्यसम्पादन देखाएको छ।

तर, घिसिङले ऊर्जामन्त्रीसँग स्पष्टीकरण लिने र कारबाही गर्ने कानुनी अधिकार नरहेको तर्क गरेका छन्। उनले आफ्नो कार्यसम्पादन उत्कृष्ट रहेको दाबी गर्दै ९८ अंक दिनुपर्ने दाबी गर्दै मन्त्रालयमा फाराम बुझाएका छन्।

प्रतिक्रिया

TOP