महाधिवेशन समयमै हुनुपर्छ: शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन विधानअनुसार समयमै गर्नुपर्ने बताएका छन्। बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका कोइरालाले पत्रकारहरूसँग कुरा गर्दै महाधिवेशन आम निर्वाचनपछि सार्ने कुरा अस्वीकार्य हुने बताए।

‘विधानअनुसार ढिलोमा डेढ वर्षभित्र महाधिवेशन गरिसक्नुपर्छ। यदि आम निर्वाचनपछि गर्ने कुरा सत्य भए, कांग्रेस थप कमजोर हुन सक्छ,’ उनले भने। त्यस्तै, उनले आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको स्पष्ट पारे।

कोइरालाले कांग्रेसमा गुट-उपगुट नरहेको दाबी गर्दै पार्टी देशभर बलियो रहेको बताए। देशको समसामयिक परिस्थितिबारे उनले सुशासनको अभाव रहेको र आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले बेल्ट कस्नुपर्ने धारणा राखे।

उनका अनुसार, राजनीतिक स्थिरता, सुशासन र आर्थिक सुधारका लागि कांग्रेस र एमालेबीच सहकार्य भइरहेको छ। त्यस्तै, उनले अमेरिकाले रोकेको युएसएआईडीलगायतका सहायता परियोजनाबाट नेपाल सजग हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

प्रतिक्रिया

TOP