
भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लामा हिमताल फुट्दा १ सय ५० जनाभन्दा बढीको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
भारतीय टिभी च्यानल आजतकका अनुसार चमोली जिल्लाअन्तर्गतको जोशीमठमा आइतबार सबेरै हिमताल फुटेर ऋषिगंगा जलविद्युत् परियोजनाको जलाशयमा खसेको थियो । जसका कारण धौलीगंगा नदीमा बाढी आएको थियो ।
भारतीय समाचार संस्था पिटिआईका अनुसार बाढीले तपोवन ऊर्जा परियोजनामा काम गरिरहेका कम्तीमा १ सय ५० जनालाई बगाएको छ । उनीहरू हराएका छन् ।
‘जलविद्युत् परियोजननाको ब्यारेज निर्माणमा संलग्न सयजना र सुरुङमा कार्यरत अन्य ५० जनाभन्दा बढीको मृत्यु भएको अथवा उनीहरू हराएको आशंका छ,’ भारत–तिब्बत सीमा पुलिस (आइटिबिपी) का प्रवक्ता विवेककुमार पाण्डेले पिटिआईसँग भने ।
उनले आइटिबिपीका जवानहरू उद्धारमा खटिएको पनि बताए र आइतबार साँझसम्म सुरुङमा फसेका १६ कामदारको उद्धार गरिएको छ ।
हिमताल फुटेर धौलीगंगा नदीमा बाढी आएपछि श्रीनगर, ऋषिकेश र हरिद्वार क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
प्रतिक्रिया