
तनहुँ : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिबाट सन्यास लिने अवस्था नआइसकेको बताएका छन् ।
उनले देशको परिस्थिति जटिल बन्दै गएकाले राजनीतिमा आफ्नो सक्रियताको खाँचो अझै रहेको बताएका हुन् ।
अन्नपूर्ण पोस्टका लागि तनहुँ संवाददाता पवन पौडेलसँगको कुराकानीमा नेता पौडेलले लोकतन्त्र संकटमा रहेकाले ढुक्क भएर बस्ने अवस्था नरहेको बताए ।
‘यस्तो नाजुक अवस्था आएर लोकतन्त्र संस्थागत हुन नसकेको अस्थिर अवस्थामा यसलाई स्थिरतामा पुर्याएर छाड्नुपर्ने अभिभारा ममा छ। मैले यत्तिकै चटक्क छाड्नु हुँदैन। हाम्रो धर्मशास्त्रमा भनिन्छ- वानप्रस्थ आसन र सन्न्यास आश्रम। देशको परिस्थिति ढुक्क भएको लोकतन्त्र संस्थागत भएको भए मैले सन्न्यासी बनेर आराम र विश्राम लिए पनि केही थिएन। तर त्यो विश्राम लिन पाउने अवस्था छैन,’ उनले थपे, ‘अहिले मैदान छाडें भने भागेको हुन्छ। म भगुवा होइन।’
पार्टीको आसन्न महाधिवेशनमा नेतृत्व चयनबारे नेता पौडेलले आफू सल्लाहमै रहेको जवाफ दिए । उनले आफ्नो समूहमा रहेका नेताहरुबीच सल्लाह गरेर सामूहीकतामै निर्णय गर्ने बताए ।
‘अब हाम्रो पार्टीमा उमेर पुगेका, कुरा बुझेका र हैसियत बनेका धेरै साथी हुनुहुन्छ। सामूहिकतामा चल्छौं भनेर हाम्रो समझदारी छ। अब कसको आवश्यकता हुन्छ र कसको नेतृत्वमा साथीहरू सहमत हुन्छन्, उसैले नेतृत्व गर्छ,’ उनले भने ।
नेता पौडेलले संसद विघटनविरुद्ध सशक्त आन्दोलनमा जोड दिए । उनले सर्वाेच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय सदर गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।
प्रतिक्रिया