बलात्कारपछि हत्या घटनाको अनुसन्धान गर्न एसएसपीसहितको टोली घटनास्थलमा

बैतडी : प्रहरीले बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान सुरु गरेको छ ।

एसएसपी जनकराज पाण्डेसहित सिआईबीको अनुसन्धान टोली शनिबार घटनास्थल पुगेको छ । बुधबार बैतडीको दोगडा केदार गाउँपालिका-७ मा पर्ने लवलेक सामुदायीक वनमा विद्यालयबाट फर्किने बेला १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो ।

विद्यालयबाट बुधबार घर नआएपछि आफन्तले खोजी गर्दा घरभन्दा–२ किलोमिटरको दूरीमा रहेको लवलेक सामुदायीक वनमा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपीको टोलीले शुक्रबार घटनास्थल मुचुल्का तयार पारे पनि प्रदेश प्रहरीबाट एसएसपी जनकराज पाण्डे नेतृत्वको टिम घटनाको अनुसन्धानका खटेको हो ।

‘शनिबार घटनास्थलमा पुनः तालिम प्राप्त कुकुरसहित सर्च गरियो, पुरै वनमा टोलीले सर्च गरेको छ, पीडितको घरमा पनि पुगियो, आमा र आफन्तसँग पनि कुराकानी भएको छ’, अनुसन्धानमा खटिएका एसएसपी पाण्डेले भने ।

एसएसपी पाण्डेले घटनाको विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको बताए । एसएसपी पाण्डेको टोेली इलाका प्रहरी कार्यालय खोचलेकलाई आधार बनाएर त्यतै बसेको छ ।

इलाका प्रहरी, जिल्ला प्रहरी र सीआईबीको टोली अनुसन्धानका लागि गाउँ गाउ गएको छ । मृतकका नजिकका साथीसँग बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार विद्यालयका साथीहरुसँग पनि सोधपुछ गर्नेछ। धनगढीबाट लगिएका तालिम प्राप्त कुकुरले किशोरीको शव भन्दा केही पर मोबाइलको ब्याट्री झिकेको पत्ता लगाएको छ ।

‘मोबाइलको सम्पर्क, एसएमएस, म्यासेन्जरसहितका टेक्निकल कुराको पनि अनुसन्धान भइरहेको छ’, एसएसपी पाण्डेले भने ।

प्रतिक्रिया

TOP