समावेशी र पहुँचयुक्त निर्वाचनमा युवा

लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको अद्यावधिक निर्वाचन नै हो । निश्चित समय अवधिमा हुने निर्वाचन र यसबाट आउने परिणामले लोकतन्त्रलाई चलायमान बनाइरहेको हुन्छ ।

अमेरिकीका पूर्व राष्ट्रपति अब्राहम लिंकनले भने जस्तै जनताद्धारा जनताका लागि जनतामार्फत गरिने शासनलाई लोकतन्त्र भनिन्छ । र, संसारभर लोकतन्त्रको विकल्प अझ समुन्नत र परिस्कृत लोकतन्त्र नै हो । यसको अर्को विकल्प हुन्न । र, यसको मुख्य आधार भनेको उहि अद्यावधिक निर्वाचन नै हो ।

सरकारले प्रतिनिधि सभालाई पुस ५ गते भंग गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ । अगामि वैशाख १७ र २७ गतेका लागि दुई चरणको निर्वाचन घोषणा भइसकेको छ । निर्वाचन आयोगले यस विषयमा विभिन्न आवश्यक नीति र कार्यविधि बनाइरहेको छ । साथमा निर्वाचन सुरक्षालाई लिएर पनि काम भइरहेको छ ।

सरकारद्धारा भइसकेको निर्वाचनको मिति घोषणा, यसलाई लिएर भइरहेको निर्वाचन आयोगको तयारी र सुरक्षा निकायहरुबाट भइरहेको गृहकार्यले निर्वाचनलाई अघि बढाउन पक्कै मद्दत पुग्ने छ ।

तर यी विषयसँगै अब हुन गइरहेको निर्वाचनमा राज्यले भुल्न नहुने अर्को महत्वपूर्ण पक्ष हो, समावेशी र पहँुचयुक्त निर्वाचनका लागि युवाको भूमिका । अब हुने निर्वाचनमा युवाहरुको सहभागिता मात्र महत्वपूर्ण छैन, जनप्रतिनिधि चुन्न समेत युवाहरुको मुख्य भूमिका हुन्छ ।
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवा रहेका छन् । साथै नेपालको १,५४,२७,९३८ कुल मतदाता मध्ये १८–४० वर्षका ८०,७१,३६९ युवा मतदाता (५२ प्रतिशत) रहेका छन् । ५२ प्रतिशत मतदाताले लोकतन्त्रिक रुपमा हुने निर्वाचनमा कति महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा अब व्याख्या गर्नुपर्ने आवश्यक देखिन्न ।

कुन दल वा व्यक्तिले कुन क्षेत्रबाट सफलता हासिल गर्न सक्छ भन्ने कुरा त्यो दल वा क्षेत्रका जनप्रतिनिधिको युवाहरुसँग कस्तो सम्बन्ध छ भन्नेमा भर पर्छ । जसले युवाहरुको मन जित्यो, यसैले नेपालको लोकतान्त्रिक अभ्यासमा बाजी मा¥यो । तर बिडम्बना, हाम्रोमा राजनीतिक प्रकृयाहरूमा युवाको सहभागिता ज्यादै थोरै रहेको छ । युवाहरुलाई भोटको माध्यमबाट सत्तामा पुग्ने भ¥याङ बनाउने काममात्र भएको छ ।

यस पटक निर्वाचन हुन गइरहेको परिवेक्षमा युवाहरुलाई समावेशी र पहुँचयुक्त मतदाताको रुपमा तयार गर्न केहि महत्वपूर्ण विषयहरुमा ध्यान दिनु आवश्यक देखिन्छ । सबैभन्दा पहिला निर्वाचन सम्बन्धि सचेतना अभिवृद्धि सामग्रीहरूको निर्माण तथा मतदाता शिक्षा कार्यक्रमहरू सम्पूर्ण मतदाता बिशेष गरि युवा र पहिलो पटक मतदानमा भाग लिने मतदाताहरूसम्म पु¥याउनु पर्छ । उनीहरूलाई मताधिकार र नेपाल सरकारले कोभिड–१९ सम्बन्धि जारी गरेको मापदण्डको पालना गरि अद्यावधिक मतदान प्रकृयाहरूको बारेमा सुसुचित भएको सुनिश्चित गर्नु आवश्यक हुन्छ ।

कोभिड–१९ को भ्याकसिन नेपालमा आए पनि तत्कालै सम्पूर्ण नेपालीहरुलाई उपलब्ध हुने संभावना देखिन्न । त्यसैले कोभिड–१९ सचेतनाका लागि मतदाता शिक्षा तथा नागरिक शिक्षाका कार्यक्रमहरू युवा, युवा संस्था र युवा सञ्जालको सहकार्यमा सञ्चालन गर्ने र यस्ता कार्यक्रमहरू सीमान्तकृत समूह तथा समुदायसम्म पुगेको सुनिश्चितता गर्नु आवश्यक देखिन्छ । युवा तथा पहिलो पटक मतदानमा भाग लिने मतदाताहरूलाई लक्षित गरि बनाईएका नागरिक तथा मतदाता शिक्षा सामग्रीहरूमा जनस्वास्थ्य सम्बन्धि सन्देशहरू पनि मूल प्रभाविकरण गर्नु पर्ने हुन्छ ।

दोस्रो महत्वपूर्ण पक्ष भनेको कानुनी तथा चुवानी ढाँचा हो । निर्वाचन आयोगमा नयाँ बन्दै गरेका वा भविष्यमा बनाइने ऐन, नियमावली, निर्देशिका, कार्यविधि, आचार संहिता, रणनीति तथा कार्यक्रमहरू युवामैत्री बनाउनु पर्छ । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई दलको हरेक तहको समितिमा ३० प्रतिशत अर्थपुर्ण युवा प्रतिनिधित्व रहने व्यवस्था गर्नु उपयुक्त हुन्छ । सो प्रतिनिधित्व समानुपातिक समावेशी सिद्धान्तको आधारमा गराई अपांगता भएका युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक, महिला, दलित तथा अन्य सीमान्तकृत समूह आदिलाई पनि समावेश गर्नु पर्छ ।

तेस्रो पक्षको रुपमा मतदाता दर्ता रहेको छ । निर्वाचनको मिति घोषणा भएको दिन १८ वर्ष उमेर पूरा गरेको मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हटाई मतदानको अगिल्लो दिन १८ वर्ष उमेर पूरा गर्ने मतदाताले मतदान गर्न पाउने व्यवस्था गर्नुले लोकतान्त्रिक प्रक्रियामा युवाहरुको पूर्ण सहभागितालाई सुनिश्चित गर्छ ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारको न्युनतम उमेर १८ वर्ष, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको न्युनतम उमेर २१ वर्ष र राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको न्युनतम उमेर २५ वर्ष हुने गरि सम्बन्धित ऐन संसोधन गर्नु ठिक हुन्छ ।

सबै प्रकारका मतदाताहरू बिशेष गरि युवा वर्ग निर्वाचनको मिति घोषणा भए पछि मात्रै निर्वाचनको बिषयमा चासो दिने र पढाई वा रोजगारीको सिलसिलामा अस्थाही जिल्लामा बसोबास गर्ने गरेकाले निर्वाचनको मिति घोषणा भएको दिनबाट केहि हप्तासम्म मतदाता दर्ता सञ्चालन गरिनुपर्ने र वाह्य जिल्ला मतदाता दर्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गर्नु उचित हुन्छ ।

प्रत्येक निर्वाचनमा मतदाताको तथ्यांक जस्तैः कुल मतदाता दर्ता संख्या, निर्वाचनमा भाग लिने मतदाताको संख्या, उमेर, समूह, लिङ्ग, अपांगता, आदिको तथ्यांक मतदाताको पहुँचका लागि नियमित रूपमा अद्यावधिक गरि वेभसाइटमा राख्नु पर्छ । युवा लक्षित संस्थाहरूसँग समन्वय र सहकार्य गरि मतदाता दर्ता कार्यक्रमहरू सञ्चालन गरिनु पर्छ ।

चौथो पक्ष भनेको प्रभावकारी मतदाता वा नागरिक शिक्षा कार्यक्रमहरूको निर्माणका लागि युवा लगायत युवा लक्षित नागरिक संस्थासँग परामर्श गर्ने तथा मतदाता शिक्षा सम्बन्धि जनचेतनामूलक सामाग्रीहरू समावेशी र पहँुचयुक्त बनाउनु पर्छ । निर्वाचनमा खटिने कर्मचारीका रुपमा सरकारी कर्मचारी मात्रै नभएर युवाहरूलाई पनि सहभागी गर्ने तथा मतदान कार्य सकिएपछि मतदान केन्द्रमै मत गणना गर्ने र युवा संस्थाहरूलाई मत गणना स्थलमा परिवेक्षण गर्न प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

यस्तै, अधिकाशं युवाहरू सामाजिक सञ्जालको पहँुचमा रहेका हुँदा निर्वाचन आयोगले सामाजिक सञ्जालमैत्री रणनीति बनाई निर्वाचन शिक्षा, मतदाता शिक्षा वा नागरिक शिक्षा सामाजिक सञ्जालबाट पनि सञ्चालन गर्नु पर्छ । साथै निर्वाचन आयोगले जारी गर्ने सूचना र सन्देशहरू जस्तैः निर्वाचनको मिति घोषणा, मतदाता दर्ता, प्रचारप्रसार खर्चको सिमा, निर्वाचन विवाद निरुपण सम्बन्धि जानकारी, आदिको बारेमा सामाजिक सञ्जालबाट प्रकाशित गरिनु पर्छ।

निर्वाचन तथा निर्वाचन निष्ठालाई असर पार्ने मिथ्या सूचना, दुस्प्रचार तथा घृणास्पद अभिव्यक्ति विरुद्ध जनचेतना अभिवृद्धि तथा प्रतिकार गर्नको लागि निर्वाचन आयोगले रणनीति तयार गर्नु आवश्यक देखिन्छ ।

आयोगले सञ्चालन गर्ने प्रत्येक तालिमहरूमा युवा तथा पहिलो पटक मतदानमा भाग लिने मतदाताहरूलाई कोभिड–१९ का कारण अद्यावधिक गरिएको मतदान प्रकृया र पालना गर्नु पर्ने मापदण्डका बारेमा सुसुचित गर्नु पर्ने देखिन्छ ।

युवालाई नियमित रुपमा निर्वाचन कानून, कानूनी व्यवस्था, नियमावली, कार्यविधि आदिका बारेमा तालिम प्रदान गरि यस्ता कानून संसोधन अथवा नयाँ कानून निर्माण गर्ने बेलामा परामर्श गर्नु पर्छ । युवालाई निर्वाचन विवाद निरुपण, राजनीतिक बित्त, राजनीतिक दल र उम्मेदवारका प्रचारप्रसार खर्च अनुगमन, आचार संहिता आदि बिषयमा बिशेष तालिम प्रदान गरि परिचालन गरिनु पर्छ ।

माथिका यी महत्वपूर्ण पक्षहरुलाई समेट्दै युवाहरुलाई निर्वाचनको अघि, पछि र निर्वाचनको बेलामा हुने सम्पूर्ण प्रक्रियामा समेट्न सक्यो भने समावेशी र पहुँचयुक्त निर्वाचनका लागि युवाको भूमिका रहन्छ । जसले लोकतन्त्रलाई थप बलियो बनाउने काम गर्छ । किनकी युवालाई लोकतन्त्रको एक महत्वपूर्ण र बलियो पहरेदार मानिन्छ र हुन् ।

(लेखक नेपाल युवा संस्था सञ्जाल (आयोन) का केन्द्रीय अध्यक्ष हुन् ।

प्रतिक्रिया

TOP