
प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जाँदैमा आत्तिनु नपर्ने बताएका हुन् ।
आगामी निर्वाचनमा बहुमत ल्याउँछौँ भन्ने मनोबलका साथ अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
‘सान्दार बहुमत ल्याउनु पर्छ । कसैले ठान्ला पार्टी फुटेको छ कसरी बहुमत ल्याउँछ रु ३ करोड मान्छेमा २-४ जना जाँदैमा पार्टी फुट्यो भनेर आत्तिनु पर्दैन । मनोबल गिराउनु पर्दैन । हामी जित्न सक्छौँ । हामीले जित्नुपर्छ र हामीले जित्छौँ,’ उनले भने ।
उनले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरणसहित सुदृढ हुँदै अघि बढ्ने दाबी गरे ।
‘विवाद र झगडा गर्नेहरु, झगडा गर्न बानी परेकाहरु, मुद्दा लड्न बानी परेका, सिंघौरी खेल्ने र भुइँ खोस्रिने बानी परेका, गालीगलौच गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगेपनि निहुँ खोज्ने बानी परेका हटे । अब आन्दोलनलाई एकजुट बनाएर लाने हो,’ उनले भने, ‘मै हुँ भन्ने केहीले पार्टी छोड्दैमा यो आन्दोलन समाप्त हुँदैन । अझ बलियो भएर जान्छ । अझै शुद्धिकरण र सुदृढीकरण भएर जान्छ ।’
प्रतिक्रिया