‘कँही नभएको जात्रा हाडीगाउँमा’, मुख्यमन्त्री नै बन्द आह्वान गर्दै सडकमा

धनगढी : सरकारको काम बन्द आह्वान गर्नेलाई रोक्नु हो । सकेसम्म कसैले पनि बन्द हडताल नगरोस् भन्ने चाहन्छ सरकार । यो स्वभाविक पनि हो ।

नागरिकलाई शान्ति, सुरक्षा र अमनचयनको वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो र यसका लागि राज्यले आवश्यक परे बल प्रयोग गरेर भएपनि नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्दछ ।

नेपालमा विभिन्न समयमा विभिन्न समूहहरुले विभिन्न नाममा बन्द आह्वान गर्छन् । र गर्दै आएका पनि छन् ।

सरकारको प्रयास बन्दको प्रभाव कम भन्दा कम होस् र आमनागरिकले बन्दका कारण कुनै पनि प्रकारको समस्या भोग्नु नपरोस् भन्ने हुन्छ । तर ‘कँही नभएको जात्रा हाडीगाउँमा’ भन्ने नेपाली उखान यत्तिकै भएको भने होइन रहेछ ।

नेपालमा बेलाबखत यस्ता घटनाहरु हुन्छन्, जुन घटना सुन्दा पनि अचम्म लाग्ने मात्र होइन, पत्याउनै गाह्रो हुने खालका हुन्छन् । अहिले यस्तै एउटा घटना भएको छ, सुदूरपश्चिम प्रदेशमा ।

सुदूरपश्चिम प्रदेशको विकास, समृद्धिका लागि काम गर्नुपर्ने हो, प्रदेश सरकारले । नेपालमा लामो संघर्षपछि संघीयता आएको छ ।

संघीयताका बारेमा विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला यसको आवश्यकता पुष्टि गर्नुपर्ने समय पनि हो यो । यसका लागि प्रदेश सरकारको काँधमा ठूलो जिम्मेवारी छ ।

पहिलो पटक संघीयताको अभ्यास गरिरहेको नेपालले संघीयतालाई समृद्धिको पर्यायका रुपमा स्थापित गर्नुपर्ने हो । र त्यसका लागि प्रदेश सरकार नै बढी जिम्मेवार हुनुपर्ने हो । तर यहाँ त्यस्तो भएको देखिदैन ।

बरु एउटा दृश्यले संघीयतालाई गिज्याइदिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द आह्वान गर्दै सडकमा निस्किएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई अहिले सुदूरपश्चिमको विकास भन्दा नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहडताल सफल बनाउनुमा बढी चिन्ता देखिन्छ ।

उनी बिहीबार ललितपुरको सातदोबाटो चोकमा आमहडताल सफल पारौं भन्दै नारा लगाइरहेका थिए ।

बन्द आह्वान कर्तालाई रोक्नु त कता हो कता, मुख्यमन्त्री आफै बन्द सफल पार्न भन्दै सडकमा उत्रिएपछि कसको के लाग्छ र ?

प्रचण्ड नेपाल समूह निकट मानिएका प्रदेश मुख्यमन्त्री भट्टको बन्द घोषणा कार्यक्रममा समर्थन हुनसक्छ तर मुख्यमन्त्री आफै बन्द सफल पार्न भन्दै सडकमा आएपछि अरुले के सिक्ने अनि प्रदेशका राज्यका संयन्त्रले कसरी बन्द गर्दै हिँडेका व्यक्तिलाई नियन्त्रणमा लिने ?

मुख्यमन्त्रीको अपरिपक्व र अराजनीतिक कार्यले सुदूरपश्चिम प्रदेशका राज्यका सबै निकायको शीर नै निहुराइदिएको टिप्पणि यतिबेला धनगढीका चोकचोकमा हुन थालेको छ ।

अब सुदूरपश्चिममा बन्द हडताल गर्ने समूहलाई प्रदेशका मुख्यमन्त्रीले समर्थन गर्लान् वा नियन्त्रण गर्लान् ?

आफै सडकमा बन्द हडतालका पक्षमा आएपछि मुख्यमन्त्री भट्टले कुनै नैतिकताले बन्द हडतालको राजनीतिको विरोध गर्लान् ? नेकपाकै ओली समूहका नेताकार्यकर्ताले प्रश्न सोध्न थालेका छन् ।

प्रतिक्रिया

TOP