
काठमाडौं: प्रतिनिधिसभाका सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लामा राष्ट्रिय सडक सञ्जाल र राष्ट्रिय प्रसारण लाइन नजोडिनु बिडम्वना भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा माग लिंदै सांसद छिरिङले उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोधे, ‘हुम्ला सडक र विद्युतसँग कहिले जोडिन्छ ?’
नेकपा माओवादी केन्द्रका सांसद छिरिङले अबको बजेटमा हिमाली जिल्ला हुम्लालगायत दुर्गम क्षेत्रलाई समान बजेट वितरण गर्न पनि माग गरे। उनले हिमाली क्षेत्रको विकासमा सरकारको ध्यान नपुगेको भनी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सांसद छिरिङले कर्णाली करिडोर अन्तर्गतको खुलालु-सलिसल्लाको बहुवर्षे ठेक्कामा पहिलेका अर्थमन्त्रीले सहमति नदिएको बताए ।
नयाँ अर्थमन्त्रीले सहमति दिनुहुन्छ कि हुँदैन भन्दै उनले थप प्रश्न गरे । ‘मृत्युमार्ग’को रुपमा परिचित कर्णाली करिडोलाई जीवनमार्गमा कहिले बदल्ने भन्ने उनको प्रश्न थियो ।
जवाफमा प्रधानमन्त्री:
जवाफमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोलाई उच्च प्राथमिकतामा राखिने बताए । हुम्लालगायत हिमाली क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको उनले बताए ।
हिमाली क्षेत्रमा विद्युत् विस्तारको कामसमेत भइरहेको प्रधानमन्त्रीको भनाइ छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटलाई चालु आर्थिक वर्षभित्रै राष्ट्रिय सडक सञ्जालसँग जोडिने गरी काम भइरहेको बताए ।
कर्णाली करिडोरको सुधारको काम पनि भइरहेको उनको भनाइ छ। साथै खुलालु-सलिसल्ला खण्डको सुधारका लागि बहुवर्षे ठेक्का आह्वान गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रतिक्रिया