
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले माघ २४ गते हुन गइरहेको सरकारविरुद्धको विरोध प्रदर्शन सफल पार्न आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको विभागको बैठकले संसद् विघटनविरुद्ध पार्टीले तय गरेको विरोध प्रदर्शन सफल पार्न शुभेच्छुक संस्थाहरुलाई आह्वान गरेको हो ।
बैठकले पार्टीका १८ वटै शुभेच्छुक संस्थाहरुलाई माघ २४ गतेको विरोध प्रदर्शन र सभालाई सफल पार्न आह्वान गर्ने निर्णय गरेको विभागका संयोजक एनपी साउदले जानकारी दिए । “२४ गते हुन लागेको विरोध प्रदर्शनलाई सफल बनाउनका लागि पार्टीका १८ वटै शुभेच्छुक संस्थाहरुलाई आह्वान गर्ने निर्णय भयो,” उनले भने ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले माघ २४ गते शुभेच्छुक संस्थाहरुलाई सरकारविरुद्ध सडकमा उतार्ने निर्णय गरेको थियो । विभागको बैठकले छ वटा प्रदेशमा विभागका संयोजकहरु पनि तोकेको छ ।
संयोजक साउदकाअनुसार प्रदेश १ मा झापाका दिपेन पाठक, प्रदेश २ मा महोत्तरीका राजु उप्रेती, वाग्मती प्रदेशमा सिन्धुपाल्चोकका हरिदर्शन श्रेष्ठ, गण्डकीमा बाग्लुङका गोविन्द शर्मा, कर्णालीमा कालीकोटका भावना शाही र सुदूरपश्चिममा कञ्चनपुरका मीनबहादुर सिंहलाई प्रदेश संयोजक मनोनित गरिएको छ ।
साउदले लुम्बिनी प्रदेशको संयोजक तत्कालका लागि रिक्त राखिएको जानकारी दिए । बैठकले पार्टीका १८ वटै शुभेच्छुक संस्थाहरुसँग समन्वयका लागि विभागिय सदस्यहरुबाट संयोजक पनि तोकेको छ ।
प्रतिक्रिया