
देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ।
हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ। यस्तै कूल ४००/२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्। सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेशनसमेत हो।
सो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो। सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सो सबस्टेशन नेपालकोे उपलब्ध संरचनामध्येको सबैभन्दा ठूलो हो।
कामु कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलता प्राप्त भएको बताउनुभयो। मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ। सबस्टेशन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ। साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ।
प्रतिक्रिया