प्रतिनिधि सभा विघटन गरेकोमा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद विघटन गरेर गल्ती गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्न आग्रह गरे । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले ओलीलाई गल्ती गरेको मनन गर्दै जनताका माझ गल्ती स्वीकार गर्न आग्रह गरे ।

‘तपाईंहरुको भाषामा गल्ती सच्याउन झन् सजिलो छ, आत्मालोचना गरे पुग्छ, सार्वजनिक मञ्चबाट भनिदिए हुन्छ, संसद् ब्युँताइदिए हुन्छ, मलाई लाग्छ प्रधानमन्त्रीले गल्ती स्वीकार्लान्, स्वीकारेनन् भने अदालतले स्वीकार गर्न बाध्य बनाउँछ ।’ सिटौलाले सम्बोधनका क्रममा भने ।

नेता सिटौलाले संसद विघटनको घटनापछि संविधान नै विघटन गर्ने खतरा बढेको बताएका छन । ‘मुलुकमा राजनीतिक अस्थिरता आउन नदिन संविधानमा संसद विघटनको व्यवस्था राखिएन, अहिले संविधान विपरित संसद विघटन गरिएको छ, यो असंवैधानिक हो, अलोकतान्त्रिक हो, मुलुकमा व्यवस्थामाथि नै प्रहार गर्ने र संविधान नै विघटन गर्ने खेल भइरहेको छ, संविधानमाथि नै खतरा छ,’ सिटौलाले भने । उनले संसद विघटनको विषयमा अदालतमा मुद्दा रहेको र सुनुवाइ भइरहेकाले अदालतले नै विघटनलाई बदर गर्ने समेत बताए ।

‘संसद विघटन विरुद्ध अदालतमा मुद्दा छ, अदालत प्रतिको सम्मान बढाउने र क्षमता प्रदर्शन गर्ने अदालतलाई यो ठूलो अवसर पनि हो, अदालतले असंवैधानिक निणर्यलाई बदर गर्नु पर्छ,’सिटौलाले भने ।

उनले संविधानको विषय अदालतको विषयमात्र नभएर हरेक नागरिकसँग जोडिएको विषय भएकाले संसद पुर्नस्थापनाको विषयमा हरेक नागरिकले आवाज उठाउनु पर्नेमा समेत जोड दिए ।

सरकार र संसदले गलत काम गरे अदालतलाई सच्याउने अधिकार संविधानले दिएकाले अदालत त्यसतर्फ पनि सचेत हुनु पर्नेमा सिटौलाको जोड छ ।

प्रतिक्रिया

TOP