
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदका सपना पूरा गर्न सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाहरुले दलहरुबीच रहेका मतभेद बिर्सेर शहीदका सपनालाई साकार बनाउन लाग्नुपर्ने बताए ।
‘आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं,’ देउवाले भनेका छन्, ‘मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले वि.सं. १९९७ देखि २०६२/६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनर्स्थापनाको लामो संघर्षमा अनेकौँ वीर सपुतहरुले आफ्नो प्राणको आहुति दिएको उल्लेख गरेका छन् । ‘नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने तिनै अमर शहीदहरुमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न आज हामी ‘शहीद दिवस’ मनाइरहेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्दै कांग्रेस सभापति देउवाले अहिले देखिएका विसंगतिहरुको अन्त्य पनि यहीबाट हुने दावी गरेका छन् ।
‘राष्ट्रले दु्रततर रुपमा विकास र निर्माणका कार्यहरु गर्नेछ । लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए,’ देउवाले स्मरण गरेका छन् ।
प्रतिक्रिया