वडाध्यक्षको मोटरसाइकलमा आएका व्यक्तिबाट सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन कुमार थापाले बझाङमा नेपाल तरुण दलका नेता अमृत सिंहको हत्या घटना दण्डहीनताको पराकाष्ठा भएको बताएका छन् । उनले वडा अध्यक्षको सरकारी मोटरसाइकल चढी आएका मानिसबाट सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा भएको बताए ।

कांग्रेस निकट भ्रातृसंस्था तरुण दलका स्थानीय नेता सिंहको नेकपा निकट कार्यकर्ताले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का तरुण दलका स्थानीय नेता २७ वर्षीय सिंहको हत्यामा संलग्न व्यक्ति वडाध्यक्षको मोटरसाइकल चढेर आएका थिए ।

नेता थापाले वडाध्यक्षको मोटरसाइकलमा आएका व्यक्तिले सिंहको हत्या गर्नुले यसमा राज्यको संरक्षण हुनसक्ने आशंका गरे । ‘सरकारद्वारा संरक्षित हत्यारालाई कानुनी कठघरामा ल्याउन हामी हदैसम्म लाग्नेछौँ,’ नेता थापाले भने । उनले मृतक सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरे ।

छविसपाथिभेरा ३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कंने क्रममा मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसको भनाइ छ।

प्रतिक्रिया

TOP