कोरोनाविरूद्ध खोप अभियान आजदेखि, पहिलो खोप टेकु अस्पतालका निर्देशकले लगाउने

काठमाडौं : सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक कार्यक्रमका बीच खोप अभियानको सुरूवात गर्ने कार्यक्रम छ।

पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउँदै छन् ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाउँदैछ। भारत सरकारले अनुदानमा दश लाख डोज कोभिसिल्ड खोप दिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल १२० केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिनेछ।

सरकारले प्रदेशहरूमा खोप र आवश्यक बजेट पनि पठाइसकिएको बताएको छ।

आगामी दश दिनभित्र सबै जिल्लामा कोरोनाविरूद्ध खोप पुर्‍याइने र अग्रमोर्चामा खटिएकाहरूलाई पहिलो चरणमा खोप लगाउने मन्त्रालयको भनाइ छ।

पहिलो चरणमा चार लाख जनाभन्दा बढीलाई खोप लगाउने सरकारको तयारी छ।

प्रतिक्रिया

TOP