काठमाडौं : पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख १७ र वैशाख २७ गतेको लागि घोषणा गरिएको निर्वाचन हुन्छ कि हुँदैन भन्नेबारे अहिले चासोको विषय बनेको उल्लेख गर्दै आयोगले आफ्नो आन्तरिक तयारी गरिराखेको टिप्पणी गरेका छन् ।
आइतबार यादवले भने,‘निर्वाचन आयोग संवैधानिक संस्था हो । निर्वाचनको मिति घोषणा गरेपछि विशेष किसिमको तयारी गरेर अगाडि बढ्नुपर्छ । विगतमा पनि हामीले आयोगको ईतिहास त्यही पाएका छौं । २०६४, २०७० सालमा पनि निर्वाचन भएकै हो । २०७४ सालमा पनि नयाँ संविधानअनुसार निर्वाचन भएकै हो । अहिले निर्वाचन आयोगको प्रमुख दायित्व छ, निर्वाचन गर्नको लागि तयारी गरेर अगाडि बढ्नको लागि आयोगले तयारी गरिराखेको छ । आन्तरिक तयारी र बाहिरी हुन्छ । अहिले आयोगले आन्तरिक तयारी गरिाखेको छ ।’
उनले आयोगले सर्वप्रथम निर्वाचनको लागि उपयुक्त वातावरण बनाउनुपर्ने पनि सुझाव दिए । उनले भने,‘देशमा जुन अवस्था देखिएको छ, राजनीतिक अवरोध देखिएको छ । निर्वाचनको लागि त वातावरण अनुकुल हुनुपर्छ । नेपालमा अहिले राजनीतिक सुनामी नै आएको अवस्था छ । यस्तो सुनामी इतिहासमा भएको थिएन । फरक किसिमको सुनामी छ । एउटै दलभित्र दुई पक्ष छन् । यो अवस्थामा आयोग अहिले अप्ठ्यारो अवस्थामा छ । निर्वाचनको मिति घोषणा भैसकेको छ । समय कम छ । राजनीतिक दलहरुको अनुकुल वातावरण भएन भने निर्वाचन गर्न गाह छ । महत्वपूर्ण कुरा हो–पोलिटिकल कन्ड्युसिभ ईन्भाईरोमेन्ट ।’