
काठमाडौं : भारत सरकारले नेपाललाई उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।
खोप बिहीबार विमानबाट नेपाल ल्याइएको थियो । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारतले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोप खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरू भए मान्न तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोप पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीकको रूपमा रहेको उल्लेख गर्दै यसले दुई देश बीचको एकतालाई देखाएको बताए ।
यस्तै, हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताए ।
प्रतिक्रिया