
काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भन्दै नेपाली कांग्रेसले बिहीबार मुलुकभरका सबै वडामा विरोध प्रदर्शन गरेको छ।
संसद विघटनविरुद्ध निरन्तर आन्दोलित कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको हो। यसअघि कांग्रेसले पुस १३ गते १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन गरेको थियो।
आन्दोलनको समीक्षा र नयाँ रणनीति तय गर्न कांग्रेसले माघ १३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। दोस्रो चरणको विरोध कार्यक्रम सम्पन्न भएकोले अब आन्दोलनको नयाँ स्वरुप र कार्यक्रमबारे आन्तरिक गृहकार्य भइरहेको छ। आगामी केन्द्रीय समितिको बैठकले यसबारेमा ठोस् निर्णय लिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
आन्दोलनलाई निरन्तरता दिँदै अदालतको निर्णय कांग्रेसले पर्खेको छ। कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आए पनि पुनर्स्थापनाका पक्षमा संस्थागत निर्णय अहिलेसम्म भएको छैन। कांग्रेस ‘पर्ख र हेर’ को रणनीतिबाट अघि बढेको देखिन्छ।
प्रतिक्रिया