
काठमाडौं : प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले आज मुलुकभरका सबै वडामा विरोध प्रदर्शन गर्दैछ । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको ठहर गरेको कांग्रेसले सरकारविरुद्ध केन्द्रदेखि वडा तहसम्मका विरोध कार्यक्रम घोषणा गरिसकेको छ । यसअघि कांग्रेसले पुस १३ गते १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज ६ हजार ७ सय ४३ वडामा हुने विरोध प्रदर्शनमा सक्रिय सहभागि हुन सबैलाई आग्रह गरेका छन् । ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ,’ देउवाले भने, ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागि भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’
कांग्रेसले सरकारको कदम असंवैधानिक भएको निष्कर्श निकाले पनि संसद पुनस्र्थापनाको एजेण्डा भने अगाडि सारेको छैन । कांग्रेसले सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध प्रदर्शन गर्दै आएको हो । कांग्रेसले सरकारको कदमविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले अदालतको फैसला कुर्ने रणनीति लिएको छ । अदालतले संसद पुनस्र्थापनाका पक्षमा फैसला गरे स्वागत गर्ने नत्र चुनावमा जाने कांग्रेसको आन्तरिक तयारी छ ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले संसद विघटन गरेर मुलुकलाई संकटतर्फ धकेल्ने काम गरेको दावी गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओली आफैले यो संविधानको विषय होइन, यो राजनीतिक कदम भनेर भनिसकेका छन् । यसले प्रधानमन्त्री स्वयमले असंवैधानिक कार्य गरेको कबुल गरेका छन्,’ उनले भने, ‘प्रतिनिधि सभा विघटनले संविधानमाथि ठूलो क्षति पुगेको छ । ७० वर्ष लागेर निर्माण भएको संविधानमाथि आक्रमण गरेर मुलुकलाई संकटतर्फ धकेल्ने काम भएको छ । यसका विरुद्ध आमनागरिकले आवाज उठायौं भने यसले सर्वाेच्च अदालतसम्म आवाज पुग्छ ।’ नेता पौडेलले सरकारको कदमलाई समयमै नसच्याए मुलुकमा अनर्थ हुने दावी गरे ।
प्रतिक्रिया