भारतले नेपाललाई १० लाख खोप अनुदानमा दिने, खोप बिहीबार नेपाल आइपुग्ने

नेपाललाई भारतले अनुदानस्वरूप कोरोनाभाइरसको १० लाख मात्रा खोप दिने र त्यो बिहीवार नेपाल आइपुग्ने स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीले बताएका छन्।

‘भारतले १० लाख मात्रा कोभिड – १९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको छ,’ बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने।

‘त्यो भोलि नै काठमाण्डूमा अवतरण हुँदैछ।’

मन्त्री त्रिपाठीले सो खोप ‘अग्रपङ्क्तिका योद्धालाई’ दिन सबै तयारी पूरा गरिसकेको बताए।
उनले भने, ‘सुरुमा अग्रपङ्क्तिका योद्धाहरूलाई दिइनेछ र बाँकी रहेमा जोखिममा रहेका जनसङ्ख्यालाई दिइनेछ।’

‘यो पर्याप्त छैन त्यसैले खोप खरिद प्रक्रियामा पारदर्शी भएर अगाडि बढ्नेछौँ।’

मन्त्री त्रिपाठीले आगामी दिनमा पनि खोप खरिदमा भारत सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भने उडानसम्बन्धी सबै व्यवस्था मिलेमा केही दिनमा भारतले उपहारको रूपमा दिएको खोप नेपाल आइपुग्ने बताए।

भारतबाहिर यो खोप प्राप्त गर्ने पहिलो देशहरूमध्ये नेपाल पनि भएको बताए।

उनले स्पष्ट रूपमा खरिदसम्बन्धी विषयमा बोलेनन् तर यो सहयोग नेपाललाई कोरोनाभाइरसमुक्त बनाउने अभियानको पहिलो कदम हुने बताए।

प्रतिक्रिया

TOP