
काठमाडौं : प्रतिनिधि सभा विघटन गर्ने सरकारी कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशका ७५३ वटै गाउँपालिकामा विरोध प्रदर्शन गर्दैछ ।
पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार कांग्रेसले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो । पार्टी केन्द्रको निर्देशन अनुसार नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरसमितिले पनि शनिबार विरोध गर्ने भएको हो ।
नगर समितिले कागेश्वरी मनोहरा नगरपालिकको विरेन्द्र चोक गोठाटारमा प्रदर्शन गर्ने जनाएको छ । विरोध सभालाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय समिति उपेन्द्र कार्की र कागेश्वरी मनोहरा नगरसमिति सभापति नवराज पुडासैनीले पनि सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रम दिउँसो २ बजे हुने नगरसमिति सभापति पुडासैनीले जानकारी दिए ।
‘सर्वसत्तावादको विरोध गरौं, लोकतन्त्र र संविधानको रक्षा गरौं’ भन्ने नाराका साथ कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले यसअघि १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।
शनिबारको विरोध प्रदर्शनपछि कांग्रेसले माघ ८ गते देशका सबै वडामा पनि विरोध कार्यक्रम गर्ने र्काक्रम तय गरिसकेको छ ।

प्रतिक्रिया