
काठमाडौं : पौडीकी ओलम्पियन गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को उत्कृष्ट वर्ष खेलाडी बनेका छन्।
गौरिकाले महिला र मन्डेले पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार भर्चुअल कार्यक्रममार्फत विभिन्न १० विधाका विजेतालाई अवार्ड प्रदान गरेको थियो।
महिलातर्फ गौरिकासँगै तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारी मनोनयनमा थिए। गौरिका १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमानी चार स्वर्ण विजेता खेलाडी हुन्। यसैगरी मन्डेले मनोनयनको सूचीमा रहेका एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङ र फुटबलका विकेश कुथुलाई पछि पारे। मन्डेकाजी सागका दोहोरो स्वर्णधारी हुन्।
वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड गल्फका सुवास तामाङले जिते। सागमा दोहोरो स्वर्ण विजेता सुवासले तेक्वान्दोकी सीना लिम्बू मादेन, तेक्वान्दोकै भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरीलाई पछि पारेका थिए।
वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड तेक्वान्दोका नवीनकुमार श्रेष्ठले हात पारे। यस विधामा नवीनसँगै करातेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका थिए। पिपल्स च्वाइस विधाको अवार्ड भने भलिबलकी अरुणा शाहीले जितिन्। यस विधामा अरुणासहित पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका थिए। यस विधाको विजेताको घोषणा इसेवामार्फत भोटिङ, फेसबुक लाइक, खेल पत्रकार र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिएको हो। जसमा अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन्। यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए। बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत, पौडीकी गौरिकाले १३.३०१ प्रतिशत र फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत प्राप्त गरे।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड टेबुल टेनिस खेलाडीद्वय गीता क्षत्री र सिजरिन शाहलाई प्रदान गरेको छ। स्पेसल अवार्ड तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ। यसैगरी पारा एथलिट सम्मान क्रिकेट र बास्केटबल खेलाडी डिगमसिंह चेम्जोङ, टिम अफ दी इयर अवार्ड राष्ट्रिय महिला भलिबल टोली र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड मलेसियाका अहमद खवारी इसालाई प्रदान गरिएको थियो।
प्रतिक्रिया