संसद विघटन विरुद्ध ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसका संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध देशभर विरोध प्रदर्शनसहित सभा गरेको छ । कांग्रेसले शनिबार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा सरकारको विरोधमा विरोध सभा गरेको हो ।

पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि कांग्रेसलगायतका दलरु विरोधमा उत्रिएका हुन् । कांग्रेसले सरकारको कदमविरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जेठ १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा विरोध सभा गरेको कांग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै ७५३ वटै पालिका र देशभरका सबै वडाहरुमा पनि विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरिसकेको छ । सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेको कांग्रेसले संसद पुनस्र्थापनालाई भने मुद्धा बनाएको छैन । कांग्रेसले सर्वाेच्च अदालतको निर्णयलाई स्वीकार गर्ने जनाइसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएपनि कांग्रेस निर्वाचनबाट पछाडि नहट्ने बताए । शनिबार काठमाडौं–५ मा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले जनताका बीचमा जान कांग्रेस पछाडि नहट्ने स्पष्ट पारे ।

‘जनताका बीचमा जान कांग्रेस पछाडि हट्नुहुन्न । अदालतको निर्णय पर्खिनुपर्दछ । अदालत स्वतन्त्र निकाय हो । यही निर्णय गर्नुपर्दछ भनेर भन्नुहुन्न,’ उनले भने, ‘अदालतको निर्णय नेपाली कांग्रेसले मान्छ । चुनावमा जानुपर्ने अवस्था आयो भने पनि हामी तयार हुनुपर्दछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले अदालतको निर्णयपछि सबै दलहरु चुनावमा सहभागि हुने विश्वास व्यक्त गरे । साथै ओलीले तोकिएको समयमा निर्वाचन नभए ओलीलाई सडकबाटै हटाउने देउवाले चेतावनी दिए । ‘अदालतले चुनाव गराउने निर्णय ग¥यो र ओलीले बैशाखमा चुनाव गराएनन् भने नेपालीले जनताले उनलाई नेपालमै बस्न नदिने अवस्था आउँछ । चुनाव जसरी पनि गराउनुपर्दछ । मलाई लाग्छ प्रचण्डहरु पनि चुनावमा सहभागि हुन्छन्,’ उनले थपे, ‘ओलीले चुनाव गराउँदैनन् भनेर सबैले शंका गरिरहेका छन् । ओलीले चुनाव गराएनन् भने सडकबाटै ओलीलाई हटाउन बाध्य हुनेछौं ।’

प्रतिक्रिया

TOP