January 16, 2021, Saturday
२०७७, ३ माघ शनिबार
Nepal 1:37:26 pm
मिस्ट्रीखोला जलविद्युत आयोजनाको निर्माण सकियो
नेपालमञ्च संवाददाता
२०७७ पुष १८

150

बेनी : म्याग्दीको अन्नपूर्ण –४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण सकिएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, सुरुङ, क्यानल निर्माण, पेनस्टक पाइप र पावरहाउसमा उपकरण जडान सकिएको हो ।

निर्मित संरचना र जडान भएका उपकरणको परिक्षण सुरु गरिएको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए ।

‘संरचना बनाउने र उपकरण जोड्ने काम सकिएको छ,’ उनले भने, ‘बनाएका र जोडिएका संरचना ठिक भए नभएको परिक्षणको चरणमा छौ ।’ बाँधको यसअघिनै परिक्षण भइसकेको छ । सुरुङ, क्यानल र पेनस्टकको परिक्षणका लागि कार्यतालिका बनाएको छ ।

त्यसपछि बिद्युतगृहको परिक्षण गरिने इञ्जिनियर खड्काले बताए । सन २०१६ को जुन १३ मा सुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो ।

नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । बिद्युतगृह नजिकै स्विचार्ड निर्माण भएको छ । बेशीगाउँदेखि दाना स्थित २२० केभी क्षमताको सबस्टेशनसम्म प्रशारण लाइन निर्माण भएको छ ।

११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराइ भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाइको पेन स्टक पाइप जडान भएको छ ।

आगामी जनवरी १५ भित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि चुडामणी निरौलाले बताए । ‘कार्यतालिका अनुसार कुनै समस्या आएन भने जनवरी १५ भित्र परिक्षण उत्पादन हुन्छ,’ उनले भने ‘पूर्वाधार निर्माण सकेर परीक्षणको चरणमा छौं ।’

पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल इन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरुलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ ।

साधारण सेयर पनि बाडफाँड भइसकेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो ।