January 16, 2021, Saturday
२०७७, ३ माघ शनिबार
Nepal 1:37:26 pm
कांग्रेसमा चरित्र अभाव
तीर्थबहादुर थापा
२०७७ पुष १५

455

आज भन्दा करिब ८३ वर्षअघि अर्थात् सन् १९३७ मा काठमाडौंमा असनटोल निवासी राजालाल कलवारको निवासमा शुक्रराज शास्त्री, केदारमान व्यथित, मुरलीधर शर्मा, गंगालाल श्रेष्ठ, शंकरप्रसाद शर्मा, आनन्दराज र रामचन्द्र सापकोटा लगायतका व्यक्तिहरू मिलेर तत्कालीन एकतन्त्रीय राणा शासनविरुद्ध स्थापना गरिएको ‘नेपाली नागरिक अधिकार समिति’ नै आजको नेपाली कांग्रेसको पहिलो जग थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा यो नागरिक अधिकार समितिले क्रान्तिको झिल्को बालेपछि वि.सं. २००३ मा वाराणसीमा गठित ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ र वि.सं. २००५ श्रावण १ गते कलकत्तामा स्थापित ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को वि.सं. २००६ चैत्र २७ गते तदनुसार सन् १९५० अप्रिल २५ का दिन कलकत्ताको टाइगर सिनेमा हल परिसरमा ‘नेपाली कांग्रेस’ को विधिवत स्थापना, गठन र विस्तार भएको देखिन्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो र जेठो राजनीतिक दल नेपाली कांग्रेस हो । टंकप्रसाद आचार्य, सुवर्ण शमशेर, वि.पी. कोइराला, महेन्द्रनारायण निधि, दिवानसिंह राई, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सरोज कोइराला, क्याप्टेन यज्ञबहादुर थापा, गिरिजाप्रसाद कोइराला आदिले विभिन्न संघर्ष, यातना, जेलनेल र बलिदानबाट मलजल गरेको यो पार्टीले राणा शासनको अन्त्य र निरंकुश राजतन्त्रको अन्त्यसहित हरेक आन्दोलनको नेतृत्व गरी नेपाल र नेपालीलाई स्वाधीन र सार्वभौम तुल्याउन निर्वाह गरेको भूमिकालाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकबाट अनुभव गरेको छ ।

विश्वमा स्वतन्त्र सार्वभौम राष्ट्रका रुपमा रहेको नेपाल र नेपालीको पहिचान स्थापना गर्ने दिशामा अग्रणी भूमिका खेलेको यो पार्टी यसबेला आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुट, अन्योल र आपसी स्वार्थबाट झण्डै क्षतविक्षत हुन पुगेको छ । यसका विसंगति पक्षहरूलाई केलाएर हेर्ने हो भने प्रमुख रुपमा यसबेला पार्टी नीति, सिद्धान्त, विधि र प्रणालीबाट चलेको छैन ।
नेपाली कांग्रेसमा सम्पूर्ण जात, धर्म, संस्कृति, भाषा, भेषभूषा भएका दलित, जनजाती, आदिबासी, पिछडा वर्ग, उत्पीडित, मधेसी, थारु, दनुवार, राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, मगर, धानुक, कोचे, मेचे, राजवंशी आदि र महिला वर्गको बाहुल्य रहेको छ ।

यसले आफ्ना सिद्धान्त र कार्यक्रममा सबै नेपालीलाई प्रतिबिम्वित हुने गरी सम्बोधन गरेको जस्तो देखिए पनि वर्गीय मुक्ति र स्वाधीनताका लागि प्रत्याभूति हुने गरी उल्लेखनीय योगदान निर्वाह गर्न नसकेको कटु सत्यलाई नेतृत्व तहले स्वीकार गर्नै पर्दछ ।
यसो हुनुमा नेतृत्व पंक्ति मात्र दोषी छैन, कार्यकर्ता पनि जिम्मेवार छन् । किनभने नेता र कार्यकर्ता बीच एउटा लामो रिक्तता छ । नेतालाई मालिकका रुपमा प्रतिस्थापित गरेर कार्यकर्ता स्वयं दास मानसिकताबाट संचालित छन् । नेतृत्व पंक्तिको मालिक मनोवृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन । यसो हुनुको प्रमुख कारण के हो भने जो नेता आफू यसबेला सामन्तवादी मालिकपनको संस्कारबाट स्थापित छ, ऊ कुनै बेला विगतमा आफ्ना अग्रणी नेताकै आरती उतारेर नवनेता हुनु पुगेको देखिन्छ । चाहे ऊ नेविसंको विद्यार्थी हुँदा होस् वा तरुणदल, महिला संघमा रहँदा । ती सबै सामन्ती मालिक संस्कारमा उन्मत्त रहेका नेताकै वरिपरी रहेर चाकरी, चाप्लुसीका भरमा स्थापित हुन पुगेका देखिन्छन् ।

संगठनमा नीति,सिद्धान्त, प्रतिवद्धता र इमानदारिता सहितका स्पष्ट कार्ययोजना तय गरिएको छैन । देश, काल र अन्तर्राष्ट्रिय परिस्थितिमाथि चिन्तन गर्ने प्रवृत्ति देखिएको छैन । विगत इतिहासलाई मात्र भजाउने कार्य भइरहेको छ । ०७ सालको क्रान्ति, ०३६ सालको जनमत संग्रह, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६२÷०६३ को गणतान्त्रिक आन्दोलन, संविधानसभाको निर्वाचन र संविधान निर्माण, संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय निर्वाचनको नेतृत्व गरेका बहानामा जनतालाई कृत्रिम भ्रम सिर्जना गर्ने कार्य मात्र भइरहेको देखिन्छ । नेपाली कांग्रेसमा आवद्ध तमाम कार्यकर्ताहरूलाई किनारा लगाएर नेताका व्यक्तिगत स्वार्थपूर्ति हुने गरी निर्णय गर्ने परिपाटी विकसित छ, जहाँ संस्थागत निर्णय गर्नेतर्फ अग्रसरता देखाइंदैन ।

स्मरण रहोस् २०४८ सालपछि नेपाली कांग्रेसको सरकार निर्माण भएपछि तत्कालीन सरकारका मन्त्रीहरूले गरेका राजनीतिक नियुक्तिहरू व्यक्तिगत सम्पर्क र आफ्ना नातागोतालाई प्रदान गरेर पार्टी पंक्तिमा अराजकता र अन्योल सिर्जना गरिएको थियो । जसको परिणाम भिसा–पासपोर्ट बनाउन दुरुपयोग भएको ठहर कसैबाट छिपेर रहेको छैन । यसरी कांग्रेसी नेता÷मन्त्रीहरूबाट नियुक्त भएका अधिकांश व्यक्तिहरूलाई गलत ढंगबाट प्रदान गरिएका अवसर, सुविधालगायत भिसा पासपोर्टबाट विदेश पलायन हुन मद्दत ग¥यो । यस्ता विसंगति अनेक छन् । ती सबैतर्फ नजाऔं । त्यो छुट्टै बहसको विषय बन्ला ।

पार्टीमा सही र स्वच्छ छवि भएका संघर्षशील, इमान्दार कार्यकर्ताको मूल्यांकन हुन सकेको छैन । नेताका स्वकीयसचिवहरूले सिफारिस गरेका व्यक्तिहरू नै कांग्रेसी भएर हाली मुहाली गर्ने प्रवृतिको दबदबा छ । यिनकै मात्र मूल्यांकन र सम्मान हुने परिपाटीले जरा गाडेको छ । नेताका घर दैलोमा पुगेर शुभकामना दिने, नेताकै अघिल्तिर बसेर प्रसंशा गर्ने र नेताकै चाकडी चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने प्रवृत्ति चरमचुलीमा पुगेको देखिन्छ ।

यहाँ कांग्रेसभित्र रहेका अनगिन्ती विसंगति र चुनौतिहरू उपर धेरै गुनासो गरिरहन म यसबेला आवश्यक ठान्दिन । कांग्रेसमा चरित्र निर्माण गरेर पार्टी पंक्तिलाई शुद्धीकरण गर्दै आधुनिक, परिष्कृत, सुसंस्कृत, जनउपयोगी, लोकप्रीय चरित्रको कांग्रेस निर्माण गर्न सक्नु नै आजको आवश्यकता हो । तत्काल कांग्रेसमा सुधार गर्न केही सुझावहरू प्रस्तुत गर्न चाहन्छु ।

नेपाली कांग्रेसले देश र जनताका लागि आजसम्म गरेका उपलब्धिका बारेमा जनस्तरसम्म सहज, सर्वसुलभ माध्यमबाट प्रत्याभूत गराउन यथाशीघ्र पहल गर्न आवश्यक छ । कोठामा बसेर प्रेस विज्ञप्ति र भाषणबाट मात्र यस्ता कार्यहरू पुष्टि हुँदैनन् । संगठनलाई सबल तुल्याउन बुथ, इकाइ, गाउँ, वडा, नगर र जिल्लासम्म पुगेर संगठनात्मक संरचनाको निर्माण र परिचालन गर्नुपर्ने देखिन्छ । यसैगरी नेपाली कांग्रेसको भातृ, शुभेच्छुक र जनवर्गीय संगठनलाई सम्मान, सुरक्षा र पहिचानको अनुभूति प्रत्याभूत गराएर ती सबैलाई कार्यकुशलताका आधारमा यथोचित प्रतिनिधित्व गर्नुपर्ने ग्यारेन्टी पनिआवश्यक छ ।

नेपाली कांग्रेसका समग्र उपलब्धिमूलक कार्यक्रमहरूलाई देश विदेशमा सञ्चार गराएर सम्पूर्ण कांग्रेसप्रेमी शुभेच्छुकलाई मनोबल र ऊर्जा संचार गर्न ‘संचार माध्यम’ लाई महत्व र प्राथमिकता दिन आवश्यक छ । नेपाली कांग्रेसका संस्थापक वि.पी. कोइराला, सुवर्ण शमशेर, गणेशमानजी, किशुनजी, गिरिजाबाबु, महेन्द्रनारायण निधि, त्यसकापछिका नेताहरु सुशील कोइराला, भीमबहादुर तामाङ, केबी गुरुङ, शैलजा आचार्य, सिके प्रसाई, सुशीला कोइराला, मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी जस्ता शीर्षस्थ सम्मानित र आदर्श व्यक्तित्वहरूका मार्गमाकांग्रेसलाई हिंडाउन सक्ने नेतृत्ववर्ग चयन हुन आवश्यक छ ।

नेपाली कांग्रेसले विपी कोइराला, गणेशमानजी वा किशुनजीको नाम भजाएर मात्र अवका कार्यकर्ता सन्तुष्ट हुने छैनन् । पार्टी पंक्तिदेखि कार्यकर्तासम्मले चरित्र निर्माण गरेर स्वाधीनता, स्वाभिमानी र आत्मनिर्भर भई अगाडि बढ्न सक्नु आजको अपरिहार्य हो । यसैगरी नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रजातान्त्रिक र पारदर्शी ढंगबाट कार्य गर्न आवश्यक छ, जसका लागि नेताले कार्यकर्ता चयन गर्ने होइन, कार्यकर्ताले नेता चुन्ने पद्धतिको विकास गर्न आवश्यक छ ।

कांग्रेस सुधारका लागि ठूलै क्रान्ति गर्न आवश्यक छैन । दास मानसिकताबाट मुक्त भई माथि संकेत गरिएका विसंगतिहरूलाई सुधार गर्दै अघि बढेमा नेपाली कांग्रेस आफ्नो गन्तव्यमा पुग्न सक्ने निश्चित छ । यसका लागि हामीले अरुलाई आरोप लगाउनेभन्दा अब आफैबाट असल चरित्र निर्माणमा लाग्नुपर्ने समय आइसकेको छ । कांग्रेस जिम्मेवार बन्न कांग्रेसीहरुमा आमूल परिवर्तनको खाँचो छ । हामीले हाम्रा आदर्शहरु सम्झिऔं । पार्टी संस्थापक र अग्रज नेताहरुले देखाएको सत् मार्गमा हिड्ने प्रण गरौं । तबमात्रै जनताले कांग्रेसलाई आसा, भरोशा र विश्वास गर्ने पार्टी ठान्नेछन् ।

(लेखक नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति हुन्)